जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार ०७:५५

बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता


बागलुङ, असोज १३ । बागलुङमा पछिल्लो तीन दिनमा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । एक जना अझै बेपत्ता छन् ।

जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहनुभएको छ ।

पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि शनिबार पनि ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । योसँगै ताराखोलामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

त्यस्तै, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् । निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी छ ।