म्याग्दी, असोज १३ । कालीगण्डकी नदीले धार परिवर्तन गरेर बस्ती नजिकैबाट बग्न थालेपछि म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरका स्थानीय विस्थापित हुन थालेका छन् ।
आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि स्थानीयले घरका सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । नदी घरको आँगनसम्मै आएपछि ज्यान जोखिममा परेको भन्दै स्थानीय घर छाड्न बाध्य भएका हुन् ।
स्थानीय गमबहादुर सेञ्चुरीले नदीले करेसाबारी बगाउनुका साथै घरको आँगनमै बग्न थालेपछि २० वर्षदेखि बस्दै आएको घर छाड्नुपरेको बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारीबाट जोडेको एक रोपनीभन्दा बढी जग्गासमेत नदी कटानमा परेको बताउनुभयो ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने तिल्केनीचौरमा आठ घरपरिवारको बसोबास छ । असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षापछि आएको बाढीले यहाँका रेस्टुरेन्ट तथा व्यवसायमा समेत क्षति पुर्याएको छ ।
रेस्टुरेन्ट व्यवसायी गोपाल भण्डारीको घरसमेत नदी कटानको जोखिममा परेको छ । नदीले धार परिवर्तन गरी खेलमैदानको करिब ८० प्रतिशत भाग कटान गर्दै घरछेउबाट बग्न थालेको उहाँले बताउनुभएको छ ।
त्यस्तै, चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङ दुई दशकदेखि सञ्चालन गर्दै आएको व्यवसाय छाडेर गलेश्वर सर्नुभएको छ ।
स्थानीयका अनुसार घुमाउने तालनजिकै कालीगण्डकीले कटान गरेपछि केही परिवार राति डाँडामा रहेका कुखुरा फार्ममा बस्न थालेका छन् । बाढीले घुमाउने ताल र पर्वतको जलजला जोड्ने झोलुङ्गे पुलसमेत बगाएपछि खानेपानीको पाइपलाइनमा क्षति पुगेको छ । यसले खानेपानीको अभावसँगै आवतजावतमा समस्या भएको छ ।
बाढी र नदी कटानका कारण गत सातादेखि परीक्षण उत्पादन सुरु गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको उत्पादनसमेत बन्द भएको छ । कालीगण्डकीले धार परिवर्तन गरी टेलरेस र स्विचयार्ड नजिकैबाट बग्न थालेपछि उत्पादन बन्द गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताउनुभएको छ ।
बाढीले बेनी–जोमसोम सडकखण्डमा समेत क्षति पुर्याएको छ । भारतीय ठेकेदार कम्पनी जेपी एसोसिएट्सका करिब २० वटा सवारीसाधन तथा उपकरणसमेत बाढीले बगाएको जनाइएको छ ।
कालीगण्डकी र रघुगंगा नदीको संगममा रहेको राममन्दिर क्षेत्रसमेत जोखिममा परेको छ । माथिबाट खसेको लेदो र पहिरोका कारण राहुघाटका २१ घरपरिवार जोखिममा परेका छन् ।












प्रतिक्रिया दिनुहोस्