काठमाडौं, असोज १३। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चितवनमा नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै विपद्का कारण पीडित परिवारलाई प्रदेश सरकारको साथ रहने बताउनुभएको छ।
मुख्यमन्त्री थापा मगरले विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह गर्दै तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको हो। उहाँले बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै राहतपछि पुनर्निर्माणको कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो।

मुख्यमन्त्री थापा मगरले नारायणी नदीबाट हुने दीर्घकालीन क्षतिको समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नारायणीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक योजना तथा संरचनागत पहल गरिने बताउनुभयो।
उहाँले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन छुट्टै प्राधिकरण गठन गरेर काम गर्ने तयारीसमेत भइरहेको जानकारी दिनुभयो।मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “यो विपद्को घडीमा म सम्पूर्ण पीडित परिवारलाई धैर्य रहन आग्रह गर्दछु। प्रदेश सरकार तपाईंहरूको साथमा छ।”
उहाँले बाढी प्रभावित नागरिकको उद्धारदेखि सुरक्षित स्थानान्तरण, राहत वितरण र त्यसपछि पुनर्निर्माणसम्मका कार्यमा प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो।












प्रतिक्रिया दिनुहोस्