काठमाडौं, असोज १३। नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताउनुभएको छ।
आचार्यले जबरामाथि रहेको भनिएको सुरक्षा खतरा के थियो, खतरा कसले दिएको थियो र त्यससम्बन्धी सूचना कहाँबाट प्राप्त भएको थियो भन्ने विषय सरकारले सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको हो। पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेको घटनाबारे सरकारको तर्फबाट अहिलेसम्म स्पष्ट विवरण सार्वजनिक नभएको विषयमा प्रश्न उठिरहेको छ।
आचार्यले सुरक्षा खतरा वास्तविक थियो भने खतरा दिने व्यक्ति वा समूहको पहिचान गरी कारबाही गर्नुपर्नेमा खतरा भोगिरहेको व्यक्तिलाई नै नियन्त्रणमा लिनु कति उचित हो भन्ने प्रश्न गर्नुभएको छ। उहाँले प्रश्न गर्नुभएको छ, ‘सुरक्षा खतरा थियो भने खतरा दिने व्यक्ति वा समूहको पहिचान गरेर कारबाही गर्ने कि खतरा भोगिरहेको व्यक्तिलाई नै नियन्त्रणमा लिने ?’
त्यस्तै, करिब १२ घण्टामै समाप्त हुने कस्तो सुरक्षा थ्रेट थियो भन्ने प्रश्नसमेत आचार्यले उठाउनुभएको छ। उहाँले ‘सुरक्षा थ्रेट’ भन्ने दुई शब्दको पछाडि लुकेको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ। ‘सरकारले नागरिकलाई जवाफ दिनुपर्छ। ‘सुरक्षा थ्रेट’ भन्ने दुई शब्दको पर्दा पछाडि लुकेको वास्तविकता सार्वजनिक गर्ने हिम्मत सरकारसँग छ कि छैन ?’ उहाँले प्रश्न गर्नुभएको छ।
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाको कारण, कानुनी आधार र सुरक्षा चुनौतीबारे सरकारले स्पष्ट पार्नुपर्ने माग विपक्षी दलहरूबाट समेत उठिरहेको छ।












प्रतिक्रिया दिनुहोस्