जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १२:०६

एकाएक ठुला संरचनामाथि हमला गरेर राज्यले कुनै ठुलो शिल्ड जितेको देखिँदैन : गुरुप्रसाद बराल


काठमाडौं, असोज १३ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले विधि र व्यवस्थाले स्थापित तथा ऐनद्वारा निर्देशित संस्थामाथि एकैपटक हमला गर्ने कार्य कुनै पनि हिसाबले उपयुक्त नभएको बताउनुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथिको छलफलमा सहभागी हुँदै सांसद बरालले राज्यले अतिसंवेदनशील क्षेत्रमा हस्तक्षेप गर्दा त्यसले गम्भीर प्रश्न उठाउने बताउनुभयो।

उहाँले विधि र प्रक्रियाबाट स्थापित संस्थाहरूमाथि सरकारले एकाएक ठुलो आक्रमण गरेको बताउँदै यस्तो कार्य उचित नभएको धारणा राख्नुभयो। ‘विधि र व्यवस्थाले स्थापित भएका र ऐनहरूले निर्देशित भएका संस्थाहरूलाई एकैचोटी हमला गर्ने कुरा कुनै पनि हिसाबले उपयुक्त छैन,’ उहाँले भन्नुभयो।

सांसद बरालले राज्यले अतिसंवेदनशील क्षेत्रमा हात हाल्नु अत्यन्त गलत भएको बताउँदै एकाएक ठुलो संरचनामाथि हमला गरेर सरकारले कुनै ठुलो उपलब्धि हासिल गरेको आफूले नदेखेको टिप्पणी गर्नुभयो। ‘अतिसंवेदनशील क्षेत्रमा राज्यले जबर्जस्ती हात हाल्यो, त्यो अत्यन्त गलत भएको छ, एकाएक यति ठुलो संरचनामाथि हमला गरेर राज्यले कुनै ठुलो शिल्ड जितेको देख्दिनँ,’ उहाँले भन्नुभयो।

सरकारले आफ्नो प्रक्रियामा पारदर्शिता कायम गर्न नसकेको समेत सांसद बरालले बताउनुभयो। उहाँले जानकार तथा योग्य व्यक्तिलाई छनोट गर्ने प्रक्रियासमेत गलत भएको बताउनुभयो। ‘सरकारले प्रक्रियामा पारदर्शिता देखाउन सकेन, जान्नेलाई छान्ने तरिका गलत गर्‍यो,’ उहाँले भन्नुभयो।