जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १२:२८

एमालेले माग्यो प्रधानमन्त्री राहत कोषको आम्दानी–खर्च विवरण


काठमाडौं, असोज १३ । नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा संकलन भएको रकम तथा त्यसको खर्चको पारदर्शी विवरण संसद्समक्ष प्रस्तुत गर्न सरकारसँग माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले विपद् व्यवस्थापन तथा राहतका लागि ती कोषमा कति रकम संकलन भयो र कति खर्च भयो भन्ने यथार्थ विवरण संसद्लाई जानकारी गराउन माग गर्नुभएको हो। उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा कति रकम जम्मा भयो तथा कति खर्च भयो भन्नेबारे सार्वजनिक रूपमा स्पष्ट जानकारी नभएको बताउनुभयो।

विभिन्न सरकारी निकाय, संघ–संस्था तथा सर्वसाधारणबाट ती कोषमा रकम संकलन भए पनि त्यसको आधिकारिक र पारदर्शी हिसाब सार्वजनिक हुन नसकेको उहाँको भनाइ थियो। सांसद कँडेलले कोषको रकम कहाँ–कहाँ र कति खर्च भयो भन्ने विषयमा समेत संसद्लाई स्पष्ट जानकारी गराउनुपर्ने माग गर्नुभयो।

उहाँले भन्नुभयो, “कोषमा कति पैसा जम्मा भयो ? कति पैसा खर्च भयो ? कहाँ–कहाँ गयो ? स्थानीय तहमा कति गयो ? प्रदेशमा कति गयो ? विपद् प्राधिकरणमा कति गयो, त्यो कुरा अहिलेसम्म हामी कसैलाई थाहा छैन।”

कोषमा संकलित रकमको आम्दानी तथा खर्चको सम्पूर्ण विवरण औपचारिक रूपमा संसद्मा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “औपचारिक रूपमा यो संसद्मा स्पष्ट सम्पूर्ण हिसाबसहित आओस् भन्ने म चाहन्छु।”

एमालेले विपद्का बेला राहत तथा उद्धारका लागि संकलन हुने सार्वजनिक रकमको उपयोगमा पारदर्शिता र जवाफदेहिता कायम हुनुपर्ने बताएको छ।