“बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिहरूले संघीय सरकारमा सम्पर्क गर्ने व्यक्ति नै को हो भन्ने थाहा नभएको भनेर गुनासो गर्नुभएको छ।”
चितवन, असाेज १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका क्रममा संघीय सरकारसँग आवश्यक समन्वय हुन नसकेको बताउनुभएको छ।
जिल्ला समन्वय समिति चितवनद्वारा आयोजित स्थानीय तह तथा जिल्लास्थित सरकारी कार्यालयहरूको कामको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारसँग समन्वय गर्न कठिनाइ भोगिरहेको बताउनुभएको हो।
मुख्यमन्त्री थापामगरका अनुसार प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारका प्रतिनिधिसँग समन्वयका लागि सम्पर्क गर्न खोज्दा समेत सहज पहुँच नपाएको गुनासो गरेका छन्। उहाँले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधिहरूले समन्वयका लागि संघीय सरकारका प्रतिनिधि नभेटेपछि आफूलाई नै समन्वय गरिदिन अनुरोध गर्नुभएको छ।”
बाढी प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन प्रदेश सरकारले तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो। भोटेकोसी बाढीका कारण त्रिशूली नदी वारिपारि सम्पर्क विच्छेद भएका क्षेत्रमा तत्कालका लागि ७ वटा तुइन सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, प्रभावित क्षेत्रमा यातायात तथा आवागमन सहज बनाउन २ वटा बेलिब्रिज र ५ वटा झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री थापामगरले बताउनुभयो। उहाँका अनुसार द्रुत प्रक्रियाबाट ठेक्का सम्झौता गरी ती संरचनाको निर्माण अघि बढाउने तयारी भइरहेको छ।
राहत तथा पुनर्स्थापनाका लागि प्रदेश सरकारले बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई समेत आर्थिक सहयोग गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। प्रदेश सरकारले मृतकको किरिया खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपैयाँ र मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ स्थानीय तहमार्फत उपलब्ध गराउने निर्णय गरेको उहाँको भनाइ छ।
प्राकृतिक विपत्तिको कठिन अवस्थामा सबै तहका सरकार र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले चितवनका स्थानीय तहहरूलाई समेत बाढीबाट अति प्रभावित पालिकाहरूलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो।
उहाँले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।












प्रतिक्रिया दिनुहोस्