जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १२:४७

एमाले सांसद कँडेलको प्रश्न– पुरानै नियुक्ति र संसद् पनि जगाइदिने हो ?


काठमाडौं, १३ असोज । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले अध्यादेशबाट निष्क्रिय पारिएका कानुनी व्यवस्था पुनःजागृत गर्ने भए त्यसअन्तर्गत भएका पुराना नियुक्ति र संरचनाबारे पनि स्पष्ट हुनुपर्ने बताउनुभएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले सरकारले पुरानै व्यवस्था ब्युँताउने गरी विधेयक ल्याएको भन्दै प्रश्न उठाउनुभयो।

सरकारले अध्यादेशमार्फत ८५ वटा ऐनका केही व्यवस्था खारेज वा निष्क्रिय भएपछि ती व्यवस्था पुनः कायम गर्न विधेयक ल्याएको हो।

सांसद कँडेलले विधेयक आवश्यक नरहेको धारणा राख्दै पुरानो व्यवस्था नै पुनः कायम गर्ने हो भने त्यसअन्तर्गत भएका नियुक्तिलाई समेत निरन्तरता दिने कि नदिने भन्ने विषय स्पष्ट पार्नुपर्ने बताउनुभयो।

“यो विधेयक आवश्यक थिएन । तपाईंहरूमाथि नै यसले प्रश्न उठाउँछ । पहिलाका नियुक्ति पनि जगाइदिने हो कि ? केही समय उहाँहरूलाई पनि काम गर्न दिने हो कि ?” उहाँले प्रश्न गर्नुभयो।

उहाँले पुरानो व्यवस्था ब्युँताउने प्रक्रियाले संसद्को भूमिकामाथि समेत प्रश्न उठाएको बताउनुभयो। “संसद् नै पो पुरानो जगाइदिने हो कि ? यो परिपाटी भएन । यसरी जान मिल्दैन,” उहाँले भन्नुभयो।

एमाले सांसद एशुदाकुमारी बरालले पनि ऐनका पुराना व्यवस्था कायम गर्दा त्यसअन्तर्गत रहेका पदाधिकारीको निरन्तरताबारे आफूले आशा गरेको बताउनुभयो।