जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १२:४९

विद्या भण्डारीको प्रवेशले एमालेले थप गति लिनेछ : सचिव विश्वकर्मा


रूपन्देही, असोज १३ । नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा वरिष्ठ नेताको जिम्मेवारीसहित पुनः सक्रिय हुनुले एमाले र समग्र कम्युनिष्ट आन्दोलनलाई महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ।

भण्डारीको स्वागतमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा उहाँले पार्टी केन्द्रीय कमिटीको सर्वसम्मत निर्णयबाट भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताउनुभयो। एमाले केन्द्रीय कमिटीले असोज ८ गते भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय अनुमोदन गरेको थियो।

सचिव विश्वकर्माले पार्टी विधानमा वरिष्ठ नेताको व्यवस्था नरहे पनि केन्द्रीय कमिटीले विधानअनुसार आवश्यक निर्णय गरेको बताउनुभयो। उहाँले निर्णयबारे पार्टीभित्र कुनै अलमल हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो।

भण्डारी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहनुभएको उल्लेख गर्दै उहाँले पार्टी राजनीतिमा उहाँको पुनः सक्रियता सकारात्मक भएको बताउनुभयो। भण्डारी एमालेको आठौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको थियो।

भण्डारी दुई कार्यकाल राष्ट्रपति भइसकेको उल्लेख गर्दै विश्वकर्माले उहाँको राजनीतिक तथा नेतृत्व अनुभवबाट पार्टीले थप गति लिने दाबी गर्नुभयो।

उहाँले भण्डारीले पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाह गर्नुभएको भूमिकालाई समेत उदाहरणीय भएको बताउनुभयो।