जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १२:५१

बाढीले अवरुद्ध मुख्य सडक अझै नखुल्दा यात्रुलाई सास्ती


काठमाडौं, असोज १३ । बाढीपहिरोका कारण अवरुद्ध मुख्य सडक अझै सञ्चालनमा आउन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

संघीय राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन । देशका अन्य धेरै सडकखण्ड पनि बाढीपहिरोका कारण अवरुद्ध छन् ।

आइतबार दिउँसोदेखि वर्षा रोकिएपछि सडकमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको छ । तर, धेरै स्थानमा ठूलो पहिरो खसेका कारण सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, मलेखुनजिकैको परेवाभीर र गजुरीनजिकैको चालिसेमा अझै पहिरो हटाउने काम भइरहेको छ । धादिङबेँसीतर्फ जाने वैकल्पिक सडकमा सोमबारदेखि सवारी सञ्चालन भए पनि पृथ्वी राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन । धादिङ प्रहरीले आज वा भोलिसम्म यातायात सञ्चालन गर्ने गरी पहिरो हटाउने काम भइरहेको जनाएको छ ।

काठमाडौं जोड्ने अर्को मुख्य सडक बीपी राजमार्गमा पनि यातायात सञ्चालन भएको छैन । पहिरो हटाउने काम भइरहेको भए पनि सडक कहिलेदेखि खुल्छ भन्ने यकिन नभएको काभ्रे प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै पोखरातर्फ जाने सवारी भने सञ्चालनमा छन् ।

काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ तथा भीमफेदी–फाखेल सडकखण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

सडक विभागले अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ । विभागका अनुसार आगामी तीन दिनभित्र अधिकांश सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । तर, मुख्य सडकहरू पाँच दिनसम्म पनि नखुल्दा काम विशेषले यात्रा गर्ने यात्रुहरूलाई थप समस्या भएको छ ।

बाढीपहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सडक सञ्जालबाट प्रभावित भएका छन् । बागलुङ, म्याग्दी र मुस्ताङलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने सिद्धार्थ राजमार्ग पनि अवरुद्ध छ । कुश्मा–मालढुंगा खण्डमा कालीगण्डकी नदीले सडक कटान गरेपछि यी जिल्लाको सडक सम्पर्क प्रभावित भएको हो ।

बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलमा समेत क्षति पुर्‍याएको छ । पहिरोका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङको अन्य जिल्लासँगको सडक सम्पर्क टुटेको छ ।

म्याग्दीको बेनीदेखि दरबाङसम्मको सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । बागलुङमा मध्यपहाडी राजमार्गका विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध छन् । यी सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने जनाइएको छ ।