जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १३:५६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पर सर्‍यो, असोज १८ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने 


काठमाडौं, असोज १३ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पर सारेको छ। यसअघि असोज १६ गतेदेखि गर्ने भनिएको महाधिवेशन अब असोज १८ गतेदेखि आयोजना हुने भएको हो।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।

कांग्रेसले भारी वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण महाधिवेशनको मिति सारिएको जनाएको छ। पार्टीका अनुसार केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको छ।

कार्यवाहक मुख्य सचिव दुलालले निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया जारी रहेको जानकारी प्राप्त भएको बताउनुभएको छ।

१५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। हाल प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेको कांग्रेसले जनाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस परिस्थितिलाई मध्यनजर गरी १५औँ महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २:०० बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ।”

यससँगै कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन पूर्वनिर्धारित मितिभन्दा दुई दिनपछि हुने भएको छ।