जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १७:५१

ओलीको चेतावनी– अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन


काठमाडौं, असोज १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनको पालना कडाइका साथ गरिने बताउनुभएको छ। मंगलबार पार्टीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीको नीति र अनुशासनविपरीत जाने तथा विपक्षीलाई फाइदा पुग्ने गरी अभिव्यक्ति दिनेहरूमाथि कारबाही गर्ने चेतावनी दिनुभयो।

“अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन। केन्द्रीय कमिटीको बैठकलाई हामीले कट अफ डेट मानेका छौं,” अध्यक्ष ओलीले भन्नुभयो, “अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ।”

उहाँले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिनुभयो।

केन्द्रीय कमिटी बैठकअघि भएका गतिविधिलाई अब क्षमा गरिएको बताउँदै अध्यक्ष ओलीले आगामी दिनमा भने त्यस्तो छुट नदिइने स्पष्ट पार्नुभयो। उहाँले प्रतिनिधि परिषद् बैठकतर्फ नलाग्ने बताउँदै अहिले पार्टीको ध्यान निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

“अब क्षमा हुँदैन। हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौं। यो चुनावको तयारीको बेला हो। कोराकोर, हानहान गर्ने होइन,” उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीलाई पार्टीको मुख्य कार्यभारका रूपमा प्रस्तुत गर्नुभयो।

निर्वाचनमा पार्टीको ध्यान केन्द्रित हुने बताउँदै उहाँले भन्नुभयो, “दुई कार्यभार कतिखेर कुनमा फोकस हुने कुरा पार्टीले निर्धारण गर्छ। निर्वाचनमा फोकस हुन्छौं र जित्छौं।”