जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १७:५१

पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरेको भन्दै मानव अधिकारकर्मीको विरोध


काठमाडौं, असोज १३ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’को नाममा पक्राउ गरिएको भन्दै मानव अधिकारकर्मीहरूले विरोध जनाउनुभएको छ।

मानव अधिकारकर्मीहरूले मंगलबार विज्ञप्ति जारी गर्दै जबरालाई स्वेच्छाचारी रूपमा नियन्त्रणमा लिने कार्य गलत भएको बताउनुभएको हो। प्रहरीले भने उहाँलाई सुरक्षा जोखिमको सूचना पाएपछि सुरक्षाका लागि टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा लगिएको बताएको छ।

जबरालाई नियन्त्रणमा लिएपछि अनुगमनका लागि गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले उहाँसँग भेट्न नदिएको भन्दै मानव अधिकारकर्मीहरूले आपत्ति जनाउनुभएको छ। आयोगको टोली करिब ४५ मिनेट कार्यालयको गेटमा बसेर फर्किएको थियो। आयोगले समेत उक्त घटनाप्रति आपत्ति जनाउँदै प्रहरीलाई स्पष्टीकरणका लागि एसएसपी सन्तोष खड्कालाई बोलाएको छ।

मानव अधिकारकर्मीहरूले सरकारलाई मानव अधिकारको सम्मान तथा संरक्षण गर्न र राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो संवैधानिक तथा कानुनी दायित्व निर्वाह गर्न आग्रह गर्नुभएको छ।

विज्ञप्तिमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जना मानव अधिकारकर्मीको हस्ताक्षर रहेको छ।