जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १७:५७

उपाध्यक्ष बनेको ठाउँमा वरिष्ठ नेता बनेर आउँदा खुसी छु : विद्या भण्डारी


रूपन्देही, असोज १३ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ।

मंगलबार बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले उद्योगी व्यवसायीसँग सरसल्लाह गरी औद्योगिक क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

नेता भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

उहाँले आफूले पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी पनि लुम्बिनीमै पाएको स्मरण गर्दै अहिले यही क्षेत्रबाट वरिष्ठ नेताका रूपमा सक्रिय हुन पाउँदा खुसी लागेको बताउनुभयो।

“मलाई पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो। त्यतिबेला हामीले यो ठाउँमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदान लगायतका पूर्वाधार बनाउनुपर्छ भनेका थियौँ। आज ती सबै पूरा भएका छन्। यो हामी सबैका लागि खुसीको कुरा हो,” उहाँले भन्नुभयो।

भण्डारीले एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा खुसी व्यक्त गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुंगो लाग्न बाँकी रहेको बताउनुभयो।

“सुखद् संयोग भन्नुपर्छ, यो पार्टीले मलाई वरिष्ठ नेता मनोनीत गरेको छ। मैले आफूलाई वरिष्ठ नेता भन्न चाहेको थिइनँ, सबैले भन्ने गर्नुहुन्छ। औपचारिक रूपमा कसरी जिम्मेवारी सुरु गर्ने हो, टुंगो लागिसकेको छैन। तर पनि यहाँ गौरव लागेको छ,” उहाँले भन्नुभयो।

लुम्बिनीमा पूर्वाधार विकास भइसकेकाले अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

“आज यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ, राम्रा सडक पनि बनेका छन्। अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरेर औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय अनुमोदन गरेको थियो।