जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार २१:४८

बागमती प्रदेशका मन्त्रीहरुसँग मुख्यमन्त्रीले गरे कार्यसम्पादन सम्झाैता, अबको दुई सय दिन विकास निर्माणमा तीव्रता दिन आग्रह 


हेटौँडा, असोज १३। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारका आठ मन्त्रीसँग आर्थिक वर्ष २०८३/८४ का लागि एक वर्षे कार्यसम्पादन सम्झौता गर्नुभएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्री थापा मगरले मन्त्रालयबाट सम्पादन गर्नुपर्ने काम, कार्यक्रम तथा आयोजनालाई निर्धारित समयसीमा र गुणस्तरअनुसार सम्पन्न गर्ने प्रतिबद्धतासहित मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो।

प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ तथा प्रदेश सुशासन नियमावली, २०७७ को नियम ९ बमोजिम नतिजा सूचकमा आधारित भएर कार्यसम्पादन सम्झौता गरिएको प्रदेश सरकारले जनाएको छ। निश्चित अवधिभित्र काम सम्पन्न गर्नुपर्ने, निश्चित परिणाम हासिल गर्नुपर्ने तथा प्रदेश सरकारका प्राथमिकताका कार्यक्रम र आयोजना कार्यान्वयन गर्नुपर्ने अवस्थामा कार्यसम्पादन सम्झौता गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

सम्झौताअनुसार प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रमलाई निर्धारित समयमै कार्यान्वयन गर्नुपर्नेछ। साथै, कार्यक्रमको प्रगति विवरणसमेत सम्बन्धित निकायमा नियमित रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै अबको करिब दुई सय दिन विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने समय रहेको बताउनुभयो।

दुई दिनको सार्वजनिक बिदाका कारण काम गर्ने समयसमेत सीमित रहेकाले विकाससँग सम्बन्धित मन्त्रालयले काममा ढिलासुस्ती गरे वार्षिक प्रगति हासिल गर्न कठिन हुने उहाँले स्पष्ट पार्नुभयो। “अब हाम्रो काम गर्ने भनेको मोटामोटी दुई सय दिन हो। विकासकै मन्त्रालयहरूमा काममा ढिलासुस्ती गर्‍यौँ भने यो वर्षको प्रगति देखाउन सक्दैनौँ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो।

उहाँले मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुख तथा कर्मचारीलाई बजेटमा समावेश कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना बनाएर छिटोछरितो रूपमा काम गर्न निर्देशन दिनुभयो। मन्त्री, सचिव तथा कार्यालय प्रमुखहरूले आफू मातहतका कार्यक्रमको नियमित समीक्षा गर्दै देखिने गरी परिणाममुखी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यसम्पादन सम्झौता गर्ने मन्त्रीहरूमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी र बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ, नेकपाबाट आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल तथा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगर रहनुभएको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ तथा उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पनि मुख्यमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।

गत भदौ ४ गते नेकपा एमाले, राप्रपा र नेकपा सहभागी नयाँ संयुक्त सरकार गठन भएको थियो। वाग्मती प्रदेशमा अघिल्ला सरकारका पालादेखि नै मुख्यमन्त्री, मन्त्री तथा प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता हुँदै आएको छ।