जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार ०९:२८

भोटेकोशी बाढीमा बेपत्तामध्ये १ हजार ४५४ जनाको शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता


काठमाडौं, असोज १४ । भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये मंगलबारसम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३ सय ६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासीमा २ सय २२ जनाको शव फेला परेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३ सय ३४ शवको व्यवस्थापन गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य जारी रहेको छ । बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् ।