जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार ०९:३५

ढालियो इन्द्रजात्राको लिङ्गो, यसवर्षको जात्रा सकियो


काठमाडौं, असोज १४ । काठमाडौंको वसन्तपुरमा एक साताअघि ठड्याइएको इन्द्रजात्राको लिङ्गो गएराति ९ बजेर २५ मिनेटको साइतमा ढालिएसँगै यसवर्षको इन्द्रजात्रा सम्पन्न भएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको आठ दिन लामो इन्द्रजात्रा लिङ्गो ढालेसँगै समापन भएको हो।

इन्द्रजात्राको अन्तिम दिन मंगलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा सम्पन्न गरेका थिए। यो इन्द्रजात्राको अन्तिम यात्रा हो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार क्षेत्र पुगेर गणेश, भैरव र कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नुभएको थियो। टीकाप्रसाद ग्रहणपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा रहेको छ।

इन्द्रजात्राको अन्तिम दिन हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो। जीवित देवी कुमारीको दर्शन गर्न पनि ठूलो संख्यामा भक्तजन पुगेका थिए।