काठमाडौं, असोज १४ । असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा ३५ जनाले ज्यान गुमाएका छन्।
केन्द्रीय प्रहरीका अनुसार बाढीपहिरोबाट सबैभन्दा धेरै बागलुङमा १२ जनाको मृत्यु भएको छ। यस्तै, म्याग्दीमा ७, पाल्पामा ५ र मनाङमा ४ जनाको मृत्यु भएको छ।
धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विपद्का घटनामा १५ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो विपद्बाट १ हजार ८२ परिवार प्रभावित भएका छन्। २२७ घर पूर्णरूपमा र १४२ घरमा आंशिक क्षति पुगेको छ।
यस्तै, १० वटा पुल, ३१ वटा गोठ र ११४ पशुचौपायामा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
बाढीपहिरो प्रभावित क्षेत्रका झण्डै २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।












प्रतिक्रिया दिनुहोस्