जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार ०९:४४

म लास बन्न सक्छु तर दास बन्न सक्दिनँ : हर्क साम्पाङ


काठमाडौं, असोज १४ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले देशलाई माया गरेर आफ्नै चिहान आफैँ खनिरहेको टिप्पणी गर्नुभएको छ।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै देशलाई स्वाधीन बनाउने, श्रमको शक्तिबाट समृद्ध बनाउने तथा राष्ट्रिय स्वाभिमान कायम गर्ने आफ्नो अभियानका कारण आफूले अपमान, गाली र आलोचना खेप्नुपरेको बताउनुभएको हो।

उहाँले देशलाई माया गर्ने क्रममा आफूले पाएका आलोचना र अपमानलाई पनि पुरस्कारकै रूपमा लिएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “आफ्नो चिहान आफै खन्दैछु म यो देशलाई माया गरेर ! मायाले मार्छ भन्थे हो रैछ, आज यो देशप्रतिको अथाहा मायाले मलाई मार्दैछ !”

अध्यक्ष साम्पाङले देशलाई स्वाधीन बनाउन खोज्दा आफूलाई ‘ट्रोल’ बनाइएको तथा अपमान र गाली गरिएको गुनासो गर्नुभएको छ। उहाँले आफ्ना विचारप्रति असहमति राख्ने नेपाली नागरिकलाई समेत सम्बोधन गर्दै देशलाई आफ्नै पौरखमा निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले विदेशी प्रभावविरुद्ध आवाज उठाउनु, देशलाई श्रमको शक्तिबाट समृद्ध बनाउनुपर्ने धारणा राख्नु तथा सबै नेपाली मिलेर देश निर्माण गर्नुपर्ने बताउनु आफूले गरेका ‘ठूला गल्ती’ भएको व्यङ्ग्यात्मक शैलीमा उल्लेख गर्नुभएको छ। अध्यक्ष साम्पाङले भन्नुभएको छ, “म एक छु तर मेरो विरुद्धको त्यो मनोविज्ञान करोडौँमा छ । म समाज विखण्डनकारी बनेको छु आज किनकि मैले विदेशी गुलामीविरुद्धको शंखघोष गरेको छु ।”

उहाँले देशलाई आफ्नै श्रम र पौरखमा अघि बढाउनुपर्नेमा जोड दिँदै विदेशी प्रभावमा सरकार गठन र विघटन हुने परम्पराको अन्त्य गर्नुपर्ने धारणा राख्नुभएको छ। साथै, देशलाई श्रमको शक्तिबाट समृद्ध बनाउनु र सबै नेपाली मिलेर देश उठाउने कर्म गर्नु नै राजनीतिको सार हुनुपर्ने उहाँको भनाइ छ।

आफूले उठाएका मुद्दाका कारण विरोध र आलोचना भए पनि आफ्नो अडानबाट पछि नहट्ने बताउँदै अध्यक्ष साम्पाङले मृत्यु स्वीकार्य भए पनि दासत्व स्वीकार्य नभएको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “मलाई मृत्यु प्यारो र स्वीकार्य छ तर दासत्व अस्वीकार छ मलाई ! म लास बन्न सक्छु तर दास बन्न सक्दिनँ !”

अध्यक्ष साम्पाङले आफूलाई विरोध गर्ने नेपालीबाट आलोचना र प्रहार भए पनि त्यसलाई स्वीकार गर्ने, तर विदेशीको प्रहारबाट आफूले प्राण त्याग्न नपरोस् भन्ने कामना गर्नुभएको छ। उहाँले आफ्नो विचार र अभियानको मूल्याङ्कन इतिहासले गर्ने बताउँदै भन्नुभएको छ, “म दुरदर्शी हुँ या अदुरदर्शी त्यो इतिहासले बोल्नेछ ।”

उहाँले देशको माटो, राष्ट्रिय स्वाभिमान र स्वाधीनताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै “जय माटो ! जय देश !!” भन्दै धारणा टुङ्ग्याउनुभएको छ।