काठमाडौं, असोज १४ । असोज १७ गतेदेखि लगातार तीन दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको हल्लाको पछि नलाग्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाले तत्काल ठूलो तथा लगातार वर्षा हुने कुनै पूर्वानुमान नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी आधिकारिक सूचना तथा बुलेटिनमा मात्र भर पर्न अनुरोध गरेको छ। तथ्यहीन सूचना तथा अफवाह नफैलाउन पनि महाशाखाले आग्रह गरेको छ।
गएको बुधबारदेखि आइतबारसम्म देशका धेरै स्थानमा लगातार वर्षा भएपछि पुनः ठूलो पानी पर्ने भन्दै सामाजिक सञ्जालमा विभिन्न सूचना फैलिएका थिए।
महाशाखाका अनुसार सोमबार बिहानदेखि अधिकांश स्थानमा मौसम खुलेको छ। बुधबार पनि देशका धेरै ठाउँमा मौसम सामान्यतया सफा रहेको छ।
आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले मौसमसम्बन्धी पछिल्लो अवस्थाबारे आधिकारिक सूचना र नियमित बुलेटिन हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस्