काठमाडौं, असोज १४ । पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आउने भएका छन्।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार कृष्णभीर, परेवा भीर र बाँगेमोड क्षेत्रमा पहिरोलगायतका अवरोध हटाएर दिउँसो १ बजेदेखि सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने प्रमुख सडकहरू अधिकांश सञ्चालनमा आउनेछन्।
मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा सडकको करिब ७० मिटर भाग भासिएपछि अहिले उक्त सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। भरतपुर सडक डिभिजन कार्यालयले यात्रा गर्दा सावधानी अपनाउन र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।
बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग पनि मंगलबारदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढीले सडक तथा अस्थायी डाइभर्सन बगाएका स्थानमा नयाँ अस्थायी डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि सवारी सञ्चालनमा ल्याइएको हो।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकीडाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले खोलाको किनारमा तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री सडकबाट सवारीसाधन सञ्चालन भइरहेका छन्।
बीपी राजमार्गका केही जोखिमयुक्त स्थानमा अझै एकतर्फी रूपमा मात्रै सवारीसाधन चलिरहेका छन्। सडक खुले पनि नदीको बहाव र सडकको अवस्थालाई ध्यानमा राखेर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
यसैगरी अरनिको राजमार्गको धुलिखेल–खावा खण्डमा पहिरो हटाएपछि सवारीसाधन सञ्चालनमा आएका छन्।












प्रतिक्रिया दिनुहोस्