काठमाडौं, असोज १४ । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ करिब साढे ७ बजे बसोहलीनजिकै माश्का क्षेत्रमा घटना भएको अधिकारीहरूले बताएका छन् । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारको केही सहकर्मीसँग विवाद भएपछि उहाँले आफूसँग रहेको राइफलबाट गोली चलाएको आरोप छ ।
गोली लागेर गम्भीर घाइते भएका चारै जनालाई उपचारका लागि नजिकैको एनएचपीसी अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा असिस्टेन्ट कमान्डेन्ट अंकितकुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह, कन्स्टेबल रफीक अहमद र कन्स्टेबल सन्दीप कुमार रहेका छन् ।
घटनापछि अन्य सीआईएसएफ जवानहरूले हेडकन्स्टेबल अभिदेश कुमारलाई नियन्त्रणमा लिएका थिए । पछि प्रहरीले उहाँलाई पक्राउ गरेको छ । घटनामा प्रयोग भएको राइफलसमेत बरामद गरिएको अधिकारीहरूले बताएका छन् ।
घटनापछि सीआईएसएफ र प्रहरीका वरिष्ठ अधिकारी घटनास्थल पुगेका थिए । गोली चलाउनुको कारण र घटनाको परिस्थितिबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।












प्रतिक्रिया दिनुहोस्