काठमाडौं, असोज १४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ।
मुख्यमन्त्री थापा मगरले बागमती प्रादेशिक रत्ननगर बकुलहर अस्पतालको अनुगमन गर्दै अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा सेवा विस्तारका विषयमा जानकारी लिए पछि साे कुरा बताउनुभएकाे हाे । अनुगमनका क्रममा मुख्यमन्त्री थापा मगरले अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक स्रोत, साधन तथा पूर्वाधारको उचित व्यवस्थापन गर्दै अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। ‘नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता हो’, उहाँले भन्नुभयाे ।
उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले अस्पतालको क्षमता अभिवृद्धि तथा सेवा गुणस्तर सुधारमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले अस्पतालको सेवा प्रवाह तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मानसमेत गर्नुभएको छ।
सम्मान कार्यक्रममा उहाँले स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको समर्पण, मेहनत र सेवाभावले नागरिकमा स्वास्थ्य सेवाप्रतिको विश्वास अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्दै स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र सेवा गुणस्तर सुधारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ‘स्वस्थ नागरिक, समृद्ध बागमती’ निर्माणको अभियानलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। ‘स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्दै स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र सेवा गुणस्तर सुधारमार्फत ‘स्वस्थ नागरिक, समृद्ध बागमती’ निर्माणको अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयाे ।












प्रतिक्रिया दिनुहोस्