जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार १०:२६

महाकाली नदीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल चुँडियो 


काठमाडौं, असाेज १४ । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढीका कारण बीच भागबाट चुँडिएको छ।

महाकाली नदीमा आएको बाढीले बुधबार बिहान करिब ८ बजे पुलको एक भाग भत्काएको हो। नदीको बीच भागमा रहेको एउटा पिलर भत्किएपछि पुलको संरचनासमेत नदीमा बगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो।

पुलमा क्षति पुगेपछि आवतजावत प्रभावित भएको छ। घटनापछि सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले घटनास्थलको निरीक्षण थालेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक रावतका अनुसार पिलर भत्किएपछि पुल चुँडिएको हो। उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको छ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुलमा पुगेको क्षतिको अध्ययन गर्न प्राविधिक टोली घटनास्थलमा पठाउने तयारी गरेको जनाएको छ।