मकवानपुर, असोज १४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ।
मंगलबार सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट तीन क्षेत्रमा मतदान र एक क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढेको कांग्रेसको आधिकारिक कार्यतालिकामा उल्लेख छ।
मकवानपुर–१ (क) को सभापतिमा शंकरकुमार पराजुली निर्वाचित हुनुभएको छ। उहाँले ३७९ मत प्राप्त गर्दा प्रतिस्पर्धी भूमिनन्द गौतमले २५९ मत पाउनुभएको थियो। पराजुली १२० मतको अन्तरले निर्वाचित हुनुभएको हो।
मकवानपुर–१ (ख) को सभापतिमा रामहरि तिमल्सिना निर्वाचित हुनुभएको छ। उहाँले २१० मत प्राप्त गर्दा प्रदीप कँडेलले १३६ मत पाउनुभएको थियो।
त्यस्तै, मकवानपुर–२ (क) को सभापतिमा ओमबहादुर बस्नेत निर्वाचित हुनुभएको छ। उहाँले ३१६ मत प्राप्त गर्दा निरोज रानामगरले ३०१ मत पाउनुभएको थियो। बस्नेत १५ मतको अन्तरले विजयी हुनुभएको हो।
मकवानपुर–२ (ख) मा भने राजेन्द्र घिसिङको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको छ। उपसभापतिमा मुक्ति अधिकारी, सचिवमा रामशरण दोङ तथा सहसचिवमा चन्द्रबाबु थिङ र सबिना बिडारी चयन हुनुभएको छ।
प्रदेशसभा क्षेत्रीय नेतृत्व चयनसँगै कांग्रेसको मकवानपुर अधिवेशन अब प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ अघि बढेको छ। बुधबार मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ।
यसअघि मकवानपुरमा प्रदेशसभा क्षेत्रीय सभापतिका लागि बानियाँ–डिना समूह र आनन्द–ईश्वर समूहबीच प्रतिस्पर्धा हुने विवरण सार्वजनिक भएको थियो।












प्रतिक्रिया दिनुहोस्