जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार १०:३२

बागलुङमा बाढीपहिरोले ६१ घरगोठ बगायो, ५१ घरमा आंशिक क्षति


बागलुङ, असोज १४ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोले ६१ घर तथा गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। बाढीले ५१ घर र १० गोठ बगाएको हो। दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालयसमेत बगाएको छ।

बाढीपहिरोबाट तीनवटा झोलुंगे पुल बगेका छन् भने दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ। दुई जलविद्युत् आयोजनामा आंशिक क्षति हुनुका साथै एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा पनि क्षति पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभएको छ।

उहाँका अनुसार बाढीपहिरोबाट २५६ पशुचौपाया क्षति भएका छन् भने २१५ कुखुरा मरेका छन्।

निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा छन्। त्यहाँ चार गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तमानखोला–३ धमास्कमा दुई घर, तमानखोला–४ सन्तरमा आठ घर तथा बडिगाड–९ खाल्लेचौरमा १६ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

त्यस्तै, ढोरपाटन–७ र १२ मा तीन घर पूर्ण तथा एक घरमा आंशिक क्षति पुगेको छ। निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको छ। गलकोट–१ फैरसोतमा दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीपहिरोमा परी ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जनाको मृत्यु भएको छ। तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्र प्रसाईंले जानकारी दिनुभएको छ।

प्रभावित परिवारलाई स्थानीय तहबाट राहत

बाढीपहिरोबाट प्रभावित निसीखोला गाउँपालिकाले पीडित परिवारलाई नगद तथा खाद्यान्न राहत उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार मृतकका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराइएको छ।

मृतकका परिवारलाई प्रतिपरिवार ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले राहत दिइएको छ।

गाउँपालिकाका अनुसार पाँच मृतकका परिवारलाई ५० हजारका दरले, घर पूर्ण क्षति भएका २४ परिवारलाई ३० हजारका दरले तथा आंशिक क्षति भएका २१ परिवारलाई १० हजार रुपैयाँका दरले सहयोग गरिएको छ।