चितवन, असोज १४ । नारायणी नदीमा ६० वर्षयताकै ठूलो बाढी आएपछि नदी किनारमा निर्माण गरिएका करोडौँ रुपैयाँका पर्यटकीय तथा पूर्वाधार संरचना बगाएको छ। बाढीको बहाव बजार क्षेत्रतर्फ बढेपछि नारायणगढ बजारसमेत जोखिममा परेको छ।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार गत आइतबार नारायणीमा ११ दशमलव ९३ मिटर जलसतह मापन भएको थियो। सन् १९६३ मा जलमापन सुरु भएयता यो सबैभन्दा ठूलो जलसतह भएको बताइएको छ। यसअघि २०८१ असोज १२ गते ११ दशमलव ६ मिटर जलसतह मापन गरिएको थियो।
भीषण बाढीले नारायणगढ बजारसँगै नदी किनारमा निर्माण गरिएका फुटट्रेल, पार्किङ, बगैँचा, मोजाइक टायल तथा हरियाली संरचना बगाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरेको २ दशमलव ४ किलोमिटर फुटट्रेल र बगैँचामा ठूलो क्षति पुगेको छ। त्यस्तै, भरतपुर महानगरपालिका र उद्योग वाणिज्य सङ्घले ९७ लाख रुपैयाँ खर्चेर निर्माण गरेको पैदलमार्गसमेत बाढीले नष्ट गरेको छ।
हाल २०७९ सालमा नारायणी नदी व्यवस्थापन आयोजनाले १५ करोड ९२ लाख रुपैयाँ लागतमा निर्माण गरेको ६५० मिटर लामो आरसीसी संरचना मात्र बाँकी रहेको बताइएको छ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नारायणी नदी किनारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना भए पनि हरेक वर्ष आउने बाढीका कारण चुनौती थपिएको बताउनुभएको छ। उहाँका अनुसार यसपटक पहिलोपटक नारायणीको बहाव बजार क्षेत्रतर्फ सोझिएपछि नारायणगढ बजारसमेत जोखिममा परेको छ।
उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतमले नदीको प्राकृतिक बहाव अवरुद्ध हुने गरी गरिने लगानी प्रभावकारी नहुने बताउनुभएको छ। उहाँले मेला–महोत्सवभन्दा पहिले नारायणगढ बजारको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
डिभिजनल इन्जिनियर सन्तोष आचार्यले भोटेकोशी बाढीपछि नदीको सतह बढेकाले तटबन्ध तथा पूर्वाधार निर्माणका लागि नयाँ ढङ्गबाट नक्साङ्कन गर्नुपर्ने अवस्था देखिएको बताउनुभएको छ।












प्रतिक्रिया दिनुहोस्