म्याग्दी, असोज १४ । कालीगण्डकी नदीमा आएको बाढीले घर तथा व्यवसायमा क्षति पुर्याएपछि पर्वतको जलजला गाउँपालिका–४ लामाखेतका बासिन्दा घर छाड्ने कि जोखिम मोलेर त्यहीँ बस्ने भन्ने दोधारमा परेका छन्।
असोज ८ देखि १२ गतेसम्म परेको निरन्तर वर्षापछि आएको बाढीले लामाखेतको तल्लो क्षेत्रका २५ भन्दा बढी घरमा क्षति पुर्याएको छ। बाढी घरभित्र पसेर लत्ताकपडा, भाँडाकुँडा तथा अन्य सामानमा क्षति पुगेपछि स्थानीय बासिन्दा राति घरमा बस्न छाडेका छन्।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावल लामाखेतमा घर बनाएर रेस्टुरेन्ट तथा किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो। उहाँको घरमा असोज १० गते राति बाढी पसेर सामानमा क्षति पुगेपछि साँझ बेनी बजारमा गएर रात बिताउने र बिहान लामाखेत फर्केर सरसफाइ गर्ने दिनचर्या बनेको छ।
“यो ठाउँमा बसौँ भने बाढीले डुबाएको झलझली आँखामा आउँछ, छोडेर जाने अरू ठाउँ छैन,” रावलले भन्नुभयो।
लामाखेतमा बस्दै आउनुभएकी धवलागिरि गाउँपालिका–५ भेडिखाल्टाकी रुपी बुढा पनि घर छाड्ने कि बस्ने भन्ने अन्योलमा हुनुहुन्छ। उहाँले लामाखेतलाई तटबन्ध गरेर सुरक्षित बनाउनुपर्ने बताउनुभयो।
पछिल्लो १५ वर्षयता तीव्र रूपमा बस्ती विस्तार भएको लामाखेतमा अधिकांश बासिन्दा म्याग्दीका विभिन्न ग्रामीण क्षेत्रबाट बसाइँ सरेर आएका छन्। विदेशमा कमाएको रकम तथा गाउँको जग्गाजमिन बिक्री गरेर घर निर्माण गरी बसेका परिवारसमेत धेरै छन्।
बाढीले बेनी–लामाखेत जोड्ने सडकमा समेत क्षति पुर्याएको छ। सडक पहिरोले भत्किएपछि घरका सामान अन्यत्र सार्नसमेत समस्या भएको स्थानीयले बताएका छन्। सडक माथिको पाखो चर्किनु र कालीगण्डकी पारि ठूलो पहिरो देखिनुले थप जोखिम बढाएको स्थानीयको भनाइ छ।
स्थानीयले तत्काल बस्तीमा थुप्रिएको बालुवा तथा हिलो हटाउन उपकरणको व्यवस्था, सडक सञ्चालन र खानेपानी आपूर्ति सहज बनाउन माग गरेका छन्। दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्नुपर्ने उनीहरूको माग छ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार लामाखेत, लामाबगर, फर्सेललगायत तटीय क्षेत्र तथा धाइरिङको तामवाङ, खानीगाउँलगायत बस्तीमा बाढीपहिरोबाट क्षति पुगेको छ।
उहाँका अनुसार तत्काल मानवीय क्षति हुन नदिन, अवरुद्ध सडक सञ्चालन गर्न तथा आधारभूत आवश्यकता पूरा गर्न मंगलबारदेखि १४ वटा समूह परिचालन गरिएको छ। मालढुंगा–बेनी सडकको माथिल्लो क्षेत्रमा जमिन चर्किएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको उहाँले बताउनुभयो।
गाउँपालिकाले अन्य विकास बजेट कटौती गरेर विपद् व्यवस्थापनमा केन्द्रित गर्ने तथा पुनर्निर्माण र पुनःस्थापनाका लागि संघीय र प्रदेश सरकारसँग योजना तथा बजेट माग गर्ने तयारी गरेको अध्यक्ष आचार्यले बताउनुभयो।












प्रतिक्रिया दिनुहोस्