काठमाडौं, असोज १४ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु न्यायसहित राष्ट्रिय हितका मुद्दा बलियोसँग उठाएको बताउनुभएको छ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको महासभा सम्बोधन तथा आफूले विभिन्न बहुपक्षीय बैठक र द्विपक्षीय भेटवार्तामा गरेको सहभागिताबाट नेपालको कूटनीतिक उपस्थिति प्रभावकारी बनेको बताउनुभयो।
मन्त्री खनालका अनुसार महासभाका क्रममा विभिन्न मुलुकका प्रतिनिधिसँग ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ता भएका थिए। ती भेटवार्ताबाट सम्बन्धित मुलुकसँग नेपालको सम्बन्ध थप मजबुत बनाउने दिशामा आधार तयार भएको उहाँले बताउनुभयो।
महासभाका विभिन्न बैठकमा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको असर, जलवायु न्याय, विपद् व्यवस्थापन तथा जलवायु वित्तका विषय उठाएको थियो। मन्त्री खनालले भोटेकोशीको विनाशकारी बाढी तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा नेपालले आफ्नो धारणा स्पष्ट रूपमा राखेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामीले महासभामा सहभागिताका दौरान नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेर फर्केका छौँ।”
महासभाको उच्चस्तरीय सत्रका क्रममा मन्त्री खनालले जलवायु जोखिममा रहेका मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्त, क्षति तथा नोक्सानीसम्बन्धी संयन्त्र, पूर्वसूचना प्रणाली र जलवायु उत्थानशील पूर्वाधारमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पनि उठाउनुभएको थियो।
नेपालको प्रतिनिधिमण्डलले महासभाको क्रममा विभिन्न मुलुक तथा संयुक्त राष्ट्रसंघका अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेको थियो। पछिल्लो चरणमा मन्त्री खनालले महासभाका अध्यक्ष र श्रीलंकाका परराष्ट्रमन्त्रीसँग समेत भेटवार्ता गर्नुभएको थियो।












प्रतिक्रिया दिनुहोस्