जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार १२:५५

भाेटेकाेशीकाे बाढी नागरिकको जीवन, राष्ट्रिय ऊर्जा सुरक्षा र नेपालको विकास यात्रासँग जोडिएको गम्भीर राष्ट्रिय चुनौती : कुलमान घिसिङ


काठमाडौं, असोज १४ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढी तथा केही दिनअघिको अविरल वर्षाका कारण विद्युत्, सडकलगायत अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले मुलुकको ऊर्जा सुरक्षा र विकास यात्रामाथि गम्भीर चुनौती थपिएको बताउनुभएको छ।

अध्यक्ष घिसिङले त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, विद्युत् प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षति अत्यन्त गम्भीर रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्ले जलविद्युत् आयोजनाको भविष्य तथा लगानी सुरक्षाबारे समेत गम्भीर चिन्ता उत्पन्न गराएको छ। “प्राकृतिक विपद् हामीले रोक्न नसकौँला, तर विपद्पछिको राज्यको प्रतिक्रिया, राहत, पुनर्स्थापना र पुनर्निर्माण कति प्रभावकारी बनाउने भन्ने कुरा हाम्रो हातमा छ,” अध्यक्ष घिसिङले भन्नुभएको छ।

उहाँले विपद्का कारण आफ्नो थातथलो र सम्पत्ति गुमाएका नागरिकका लागि राहत, पुनस्र्थापना र पुनर्निर्माणका कामलाई सरकारले थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ। जाडो नजिकिँदै गएको अवस्थामा विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनस्र्थापनाको ठोस व्यवस्था गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ।

अध्यक्ष घिसिङले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त आयोजनालाई पुनः सञ्चालनमा ल्याउने तथा भविष्यमा यस्ता विपद्बाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति तत्काल आवश्यक रहेको बताउनुभएको छ।

त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको उल्लेख गर्दै उहाँले आगामी हिउँदमा विद्युत् माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने बताउनुभएको छ। तत्काल पुनस्र्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान गरी निर्माण तथा मर्मतलाई उच्च प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ। “‘लोडसेडिङ हुँदैन’ भन्ने घोषणा मात्र पर्याप्त हुँदैन। लोडसेडिङ नहोस् भन्न आजैदेखि आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ,” उहाँले भन्नुभएको छ।

संकटको समयमा स–साना विषयमा अल्झिनुभन्दा देशको ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन तथा क्षतिग्रस्त पूर्वाधारको पुनस्र्थापनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष घिसिङले बताउनुभएको छ। उहाँले सरकारसमक्ष विस्थापित नागरिकलाई तत्काल सुरक्षित आवास र राहतको व्यवस्था गर्न, क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधार शीघ्र पुनस्र्थापना गर्न, त्रिशूली र कालीगण्डकी करिडोरको विद्युत् प्रसारण प्रणालीलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्न तथा स्वदेशी एवं विदेशी लगानीकर्ताको विश्वास कायम राख्न स्पष्ट कार्ययोजना र आवश्यक सहजीकरण तत्काल अघि बढाउन आग्रह गर्नुभएको छ।

अध्यक्ष घिसिङले यो केवल एउटा क्षेत्रको समस्या नभई नागरिकको जीवन, राष्ट्रिय ऊर्जा सुरक्षा र नेपालको विकास यात्रासँग जोडिएको गम्भीर राष्ट्रिय चुनौती भएको बताउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।