काठमाडौं, असोज १४ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट झन्डै १८० इजरायली यात्रु लिएर तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच कुटाकुट भएको छ।
बीबीसी हिन्दीका अनुसार विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला ककपिटमा दुई पाइलटबीच हिंसात्मक झडप भएको थियो। झडपपछि विमान करिब दुई मिनेटमै तीव्र गतिमा तल झरेर १६ हजार ६०० फिटमा पुगेको थियो।
विमानबाट सुरुमा सामान्य आपत्कालीन संकेत र त्यसपछि विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइज्याकिङ जनाउने कोड पठाइएपछि मध्यपूर्वका सुरक्षा निकाय सतर्क भएका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले पनि आफ्नो सतर्कता स्तर बढाएको थियो।
साउदी अरबको आकाशमा पुगेपछि विमानले दिशा परिवर्तन गरेको थियो। करिब सात मिनेटसम्म आपत्कालीन संकेत जारी गरेपछि विमानलाई साउदी अरबतर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको थियो।
घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले उडिरहेको विमानको ककपिटभित्रै पाइलटहरूबीच झडप हुनु असामान्य भएको बताउँदै ठूलो दुर्घटना टरेकोमा राहत व्यक्त गर्नुभएको छ।
फ्लाई दुबईले घटनाको पुष्टि गर्दै झडपमा संलग्न दुवै पाइलटलाई निलम्बन गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्