जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार १७:११

मोरङ–६ मा कांग्रेस अधिवेशनमा झडप, तीन जना अस्पताल भर्ना


विराटनगर, असोज १४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनमा झडप हुँदा पूर्व प्रदेश सांसद चुमनारायण तबदारसहित तीन जना घाइते भएका छन्।

सुन्दरहरैंचा–४ स्थित सिग्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ता प्रक्रिया सुरु हुनुअघि दुई पक्षबीच विवाद भएपछि झडप भएको हो। घाइते तबदार, समुन्द्र पोखरेल र चेतराज रेग्मीको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले झडप क्षेत्रीय सभापति देबु तामाङको योजनामा भएको आरोप लगाउनुभएको छ। उहाँले घटनामा आफू पनि आक्रमणमा परेको दाबी गर्दै तामाङमाथि कारबाहीको माग गर्नुभएको छ।

तर क्षेत्रीय सभापति तामाङले भने झडपमा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्नुभएको छ। उहाँका अनुसार क्रियाशील सदस्यता तथा अधिवेशन प्रक्रियासम्बन्धी विवादका क्रममा कार्यकर्ताबीच तनाव बढेपछि झडप भएको हो।

मोरङ–६ मा यसअघि पनि क्रियाशील सदस्यताको अन्तिम सूची र अधिवेशन प्रक्रियालाई लिएर विवाद हुँदै आएको थियो। सोही कारण वडा अधिवेशनसमेत अन्य क्षेत्रको तुलनामा ढिलो भएको थियो।

झडपपछि क्षेत्रीय अधिवेशनको मनोनयन प्रक्रिया प्रभावित भएको छ। घटनाबारे दुवै पक्षले एकअर्कामाथि आरोप लगाएका छन् भने विवाद समाधानका लागि सहमतिको प्रयास भइरहेको जनाइएको छ।