जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार २१:०१

बालेनप्रति प्रचण्डको कटाक्ष– प्रधानमन्त्री भएपछि भारतको भूमि मिचेको दिव्य ज्ञान प्राप्त भएछ


काठमाडौं, असोज १४ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्नुभएको छ।

पार्टीको पर्सा जिल्ला समितिको शपथग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिँदा पनि समर्थन पाएको भन्दै टिप्पणी गर्नुभएको हो।

‘अहिले त्यो तथाकथित नयाँ भन्नेले जे गरे पनि राम्रो, नेपालले पनि भारतका धेरै ठाउँमा भारतीय भूमि मिचेको रहेछ, म प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्दा पनि हो भनेर ताली बजाइन्छ,’ उहाँले भन्नुभयो।

प्रधानमन्त्री शाहलाई प्रधानमन्त्री भएपछि मात्रै नेपालले भारतको भूमि मिचेको थाहा भएको भन्दै प्रचण्डले ‘दिव्य ज्ञान’ प्राप्त भएको टिप्पणी गर्नुभयो। उहाँले यस्तो अभिव्यक्तिमा समेत सांसदहरूले ताली बजाएर समर्थन गरेको भन्दै प्रश्न उठाउनुभयो।

प्रचण्डले सरकारको करसम्बन्धी निर्णयलाई लिएर पनि कटाक्ष गर्नुभयो। ‘कर बढाइयो भन्दा पनि ताली, कर बढाएको मिलेनछ फिर्ता लिइयो भन्दा फेरि ताली, के हो यो ?’ उहाँले भन्नुभयो।

आफू प्रधानमन्त्री हुँदा वीरगन्ज–नारायणघाट सडक विस्तारका क्रममा घर भत्काउने विषयमा आफूले रोकेको दाबी पनि उहाँले गर्नुभयो।

‘यदि हामी कम्युनिस्टहरूको सरकार हुन्थ्यो, त्यहाँ एउटा घर भत्केको भए तपाईंहरूले टायर बालेर जिन्दावाद र मुर्दावाद भन्दै हिँड्नुहुन्थ्यो। अहिले त बडो हाइसन्चो, जतिसुकै भत्कियोस्,’ उहाँले भन्नुभयो।

प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिमा सरकारका निर्णय र गतिविधिप्रति जनताको प्रतिक्रिया फरक देखिएको भन्दै आफ्नो धारणा राख्नुभएको हो।