काठमाडौं, १४ असोज । दुई दशकभन्दा लामो समयपछि अमेरिकी सेना इराकबाट पूर्ण रूपमा फिर्ता भएको छ।
सन् २००३ मा इराकमा आक्रमण गरेर सद्दाम हुसेनको शासन अन्त्य गरेपछि अमेरिकी सेना लामो समय इराकमा बसेको थियो। सन् २०११ को अन्त्यमा अमेरिकी सेना फिर्ता भए पनि इस्लामिक स्टेटविरुद्धको अभियानका क्रममा सन् २०१४ मा पुनः इराक फर्किएको थियो।
अमेरिकी सेनाको पछिल्लो फिर्तीलाई इरान र उसका सहयोगीहरूले आफ्नो रणनीतिक जितका रूपमा प्रस्तुत गरेका छन्। इरान समर्थित सिया हतियारधारी समूहहरूले अमेरिकी सेनाको उपस्थितिलाई इराकको सार्वभौमसत्तामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै आएका थिए।
इराकी सुरक्षा विश्लेषकहरूका अनुसार अमेरिकी सेनाको फिर्तीपछि इराकमा इरानको प्रभाव अझ बढ्न सक्ने जोखिम छ। अमेरिकी सैन्य उपस्थितिले लामो समयदेखि इरानी प्रभावलाई सन्तुलनमा राख्दै आएको उनीहरूको विश्लेषण छ।
इरान समर्थित ‘इस्लामिक रेजिस्टन्स इन इराक’का कमाण्डर अबु मुज्ताबा अल–यासिरीले अमेरिकी सेनाको फिर्तीलाई ऐतिहासिक जितको संज्ञा दिएका छन्। उहाँका अनुसार अमेरिकी सेना फिर्ता हुनु इराकी प्रतिरोध समूहको सफलताको प्रमाण हो।
तर इराकका केही सुरक्षा अधिकारी तथा स्थानीय नेताहरूले अमेरिकी सेना फिर्तीको समयलाई लिएर चिन्ता व्यक्त गरेका छन्। इराकले आफ्नो सुरक्षा जिम्मेवारी पूर्ण रूपमा सम्हाल्न अझै पर्याप्त तयारी नगरेको उनीहरूको भनाइ छ।
विशेषगरी इस्लामिक स्टेटका गतिविधि पुनः बढ्न सक्ने जोखिमलाई लिएर सुरक्षा अधिकारीहरू चिन्तित छन्। सन् २०१७ मा इराकमा इस्लामिक स्टेटको नियन्त्रण अन्त्य भए पनि समूहको भूमिगत सञ्जाल अझै सक्रिय रहेको बताइएको छ।
कुर्द क्षेत्रका सुरक्षा कमाण्डरहरूले अमेरिकी गुप्तचर, ड्रोन तथा सैन्य सहयोगको अभावमा इस्लामिक स्टेटका लडाकुलाई पुनः संगठित हुन सहज हुन सक्ने चेतावनी दिएका छन्। पछिल्लो समय समूहको गतिविधि बढेको देखिएको उनीहरूको दाबी छ।
इराक युद्धमा करिब ४ हजार ५ सय अमेरिकी सैनिक मारिएका थिए। अमेरिकी सेनाले इराकमा रहँदा इरानी समर्थित समूहसँग पनि पटक–पटक सैन्य तनाव झेलेको थियो।
सन् २०२० मा बग्दाद विमानस्थलनजिकै अमेरिकी हवाई आक्रमणमा इरानका प्रमुख सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिका–इरान तनाव थप बढेको थियो। त्यसपछि इरान समर्थित समूहले इराकमा रहेका अमेरिकी सैन्य बेसलाई पटक–पटक निशाना बनाएका थिए।
रोयटर्सका अनुसार अमेरिकी सेनाको फिर्तीपछि इराकमा इरानको राजनीतिक तथा सुरक्षा प्रभाव, इस्लामिक स्टेटको गतिविधि र इराकी सुरक्षा बलको क्षमता आगामी दिनमा प्रमुख चासोका विषय बन्नेछन्।












प्रतिक्रिया दिनुहोस्