जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार २१:११

सरकारको कार्यक्षमतामा एमाले सचिव अर्यालको प्रश्नः ‘जनतालाई ग्याँस त दिनुस्’


काठमाडौं, १४ असोज । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ।

बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव अर्यालले जनताको आधारभूत आवश्यकता पूरा गर्न र महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउनुभयो।

राजनीतिक आन्दोलनका क्रममा आफूहरू जेलनेल भोगेर आएको उल्लेख गर्दै उहाँले कुनै पनि दबाब वा असुरक्षाको डरले आफ्नो कर्तव्यबाट पछि नहट्ने बताउनुभयो। सरकारसँग ठूला योजना र सपना नभई जनतालाई तत्काल राहत दिने कामको अपेक्षा रहेको उहाँको भनाइ थियो।

‘हामी हिजो परिवर्तनको आन्दोलनका क्रममा जेल बसेर आएका मान्छे हौँ। साँचो बोल्दा जेल परिन्छ वा असुरक्षित भइन्छ भन्ने डरले हामी आफ्नो कर्तव्यबाट पछि हट्दैनौँ। हामीले सरकारसँग ठूला उत्पात काम खोजेका छैनौँ। जनतालाई ठग्न भएन, राष्ट्रलाई कमजोर हुन दिन भएन। कम्तीमा जनतालाई ग्यास उपलब्ध गराउनुस् र महँगी नियन्त्रण गर्नुहोस्। यति सामान्य काम पनि सरकारले गर्न सकेको छैन,’ उहाँले भन्नुभयो।

सचिव अर्यालले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा सरकारले अपेक्षित रूपमा काम गर्न नसकेको भन्दै प्रशासनिक तथा व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाउनुभयो।

खाना पकाउने ग्यासको आपूर्ति र मूल्यका विषयमा सरकारमाथि आलोचना भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले भने ग्यास आपूर्ति सहज बनाउन सरकारले विभिन्न उपाय अघि बढाइरहेको बताउनुभएको छ।