मनाङ, असोज १४ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेका थप तीन जनाको शव भेटिएको छ।
थप तीन जनाको शव भेटिएसँगै असोज ११ गते गएको हिमपहिरोमा परी मृत्यु हुने आरोहीको सङ्ख्या सात पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–२ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढा छन्।
घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आईएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको पौडेलले बताउनुभयो। सोही टोलीले हिउँ पन्छाएर तीन जनाको शव निकालेको उहाँले जानकारी दिनुभयो।
यसअघि आइतबार र सोमबार गरिएको खोजीका क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।












प्रतिक्रिया दिनुहोस्