काठमाडौं, असोज १४ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा असोज १५ गतेदेखि २६ गतेसम्म विद्युत् आपूर्ति कटौती हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम गर्न विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गर्न लागिएको हो।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालन तथा अन्य प्राविधिक काम गरिनेछ।
प्राधिकरणका अनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी, १८ गते गर्जुधारा, २० गते पुनः मुलपानी, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुनेछ।
मौसम प्रतिकूल भएमा निर्धारित समयमा विद्युत् आपूर्ति कटौती नगरिने प्राधिकरणले जनाएको छ।
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माण सुरु गरिएको थियो।
दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुर तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका सहरी क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढ र स्वचालित बनाउने काम अघि बढाइएको छ।
भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ। साथै, सडक तथा सहरी क्षेत्रमा जथाभावी रहेका विद्युत्, टेलिफोन र इन्टरनेटका तारलाई व्यवस्थित गर्न तथा सहरी सौन्दर्य बढाउन पनि सहयोग पुग्ने जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्