जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार २१:२४

१८ वर्षमै कांग्रेस महाधिवेशन प्रतिनिधि बनिन् अभिप्सा पौडेल


हेटौँडा, असोज १४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार भएको क्षेत्रीय अधिवेशनबाट हेटौँडा उपमहानगरपालिका–९ की १८ वर्षीया अभिप्सा पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ।

पौडेल यसअघि असोज ४ गते वडाबाट क्षेत्रीय प्रतिनिधिमा समेत सर्वसम्मत चयन हुनुभएको थियो। निर्वाचन अधिकृत अप्सरा बस्नेतका अनुसार पौडेल हेटौँडा उपमहानगरपालिका मात्र नभई देशकै कान्छी महाधिवेशन प्रतिनिधि हुनुहुन्छ।

१८ वर्षको उमेरमै महाधिवेशन प्रतिनिधि बन्न पाउनु राजनीतिक पुस्तान्तरणको उदाहरण भएको पौडेलले बताउनुभयो। महाधिवेशन प्रतिनिधिको जिम्मेवारीलाई पदका रूपमा नभई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने उहाँको भनाइ छ।

नेपाली कांग्रेसको विधानअनुसार पार्टीको सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ।

कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको सहभागिता बढाउने गरी विभिन्न तहमा युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। संशोधित व्यवस्थाअनुसार केन्द्रीय महाधिवेशनमा ३५ वर्षमुनिका युवाको समेत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।