काठमाडौं, असोज १५ । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सबै प्रमुख सडकमा नियमित रूपमा यातायात सञ्चालन भइरहेको छ।
बाढीपहिरोका कारण अवरुद्ध भएका सडकमा बुधबारदेखि यातायात सञ्चालनमा आएको हो। धादिङको पृथ्वी राजमार्गअन्तर्गत चालिसेमा गएराति सामान्य पहिरो खसेर केही समय सडक अवरुद्ध भए पनि पहिरो पन्छाएर अहिले एकतर्फी रूपमा गाडी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहिरो हटाउने काम भइरहेको छ। यसअघि पृथ्वी राजमार्गअन्तर्गत धादिङका कृष्णभीर, परेवाभीर, बाँगेमोड, ज्यामिरेघाट र चालिसेलगायतका क्षेत्रमा पहिरो तथा सडकमा क्षति पुग्दा यातायात प्रभावित भएको थियो।
सडक विभाग र स्थानीय प्रशासनको सक्रियतामा अवरोध हटाइएपछि पृथ्वी राजमार्गमा यातायात क्रमशः सहज बन्दै गएको छ।
त्यस्तै, काठमाडौंलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ। बीपी राजमार्गमा बाढीले क्षति पुर्याएका तथा डाइभर्सन बगाएका स्थानमा वैकल्पिक व्यवस्थामार्फत यातायात सञ्चालन भइरहेको छ।
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा पनि नियमित रूपमा गाडी चलिरहेका छन्।












प्रतिक्रिया दिनुहोस्