जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार ०७:३१

इरानसँग शान्ति सम्झौता वा सैन्य कारबाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाइ


काठमाडौं, असोज १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता वा थप सैन्य कारबाहीमध्ये कुनै पनि विकल्प खुला रहेको बताउनुभएको छ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको विवाद छिट्टै कुनै न कुनै निष्कर्षमा पुग्ने बताउनुभएको हो। यसबीच अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता जारी रहेको छ।

इरानले हर्मुज जलडमरूमध्य पुनः खोल्ने र तनाव कम गर्ने उद्देश्यसहित सातदिने योजना अघि सारेको थियो। त्यसका लागि अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने, प्रतिबन्धमा राहत दिने र रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने इरानको प्रस्ताव थियो। ट्रम्पले यस प्रस्तावलाई यसअघि अस्वीकार गर्नुभएको थियो।

तर पछिल्लो समय कूटनीतिक प्रयास भने जारी छ। रोयटर्सका अनुसार इरानी विदेशमन्त्री अब्बास अराघ्चीले कतारी मध्यस्थमार्फत अमेरिकाको पछिल्लो जवाफ प्राप्त गर्नुभएको छ। दुवै पक्षबीचको वार्तामा मुख्य मतभेद प्रस्तावका विषयमा भन्दा त्यसलाई कुन क्रममा कार्यान्वयन गर्ने भन्नेमा केन्द्रित रहेको बताइएको छ।

यसैबीच हर्मुज जलडमरूमध्यबाट तेल तथा अन्य सामग्रीको आवागमनमा केही सुधार आए पनि युद्ध, सुरक्षा जोखिम र उच्च बीमा लागतका कारण अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन।