जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार ०७:३३

फिफाको निलम्बनका कारण नेपाल पहिलोपटक साफ च्याम्पियनसिपबाट बाहिर


काठमाडौं, असोज १५ । नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको आगामी संस्करण गुमाउने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बन सेप्टेम्बर ३० सम्म फुकुवा नभए नेपाललाई प्रतियोगिताबाट बाहिर राख्ने साफले यसअघि नै जनाएको थियो। समयसीमा सकिएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिने निश्चित भएको हो।

बंगलादेशमा नोभेम्बर ४ देखि १७ सम्म हुने १५औँ साफ च्याम्पियनसिपको समूह विभाजनमा नेपाललाई यसअघि समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र भुटानसँग राखिएको थियो। तर एन्फामाथिको निलम्बन कायमै रहेपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको हो।

फिफाले गत जुन २४ मा एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अनिश्चितकालका लागि निलम्बन गरेको थियो। निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम हुनुपर्ने र विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढ्नुपर्ने विषयलाई फिफाले मुख्य सर्तका रूपमा अघि सारेको थियो।

एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै रहेको हो। यसको प्रत्यक्ष असर नेपाली राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ।

साफ च्याम्पियनसिप स्थापना भएयता नेपालले सबै संस्करणमा सहभागिता जनाउँदै आएको थियो। यसपटक भने पहिलोपटक नेपाल क्षेत्रीय फुटबलको यो प्रतियोगिताबाट बाहिरिएको हो।