जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार ०७:३६

यसवर्ष दशैँमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने


काठमाडौं, असोज १५ । यस वर्षको दशैँमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले विगतमा जस्तो सूचना जारी गरेर नयाँ नोट सटहीका लागि निश्चित दिन तोक्ने व्यवस्था हटाएको हो। अब सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्।

राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेको राष्ट्र बैंकले जनाएको छ। सार्वजनिक बिदाबाहेक अन्य दिन नयाँ नोट साट्न सकिनेछ।

काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको छ। त्यस्तै, राष्ट्र बैंकका क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिनेछ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई समेत नयाँ नोट उपलब्ध गराइसकिएको छ।

अघिल्ला दुई वर्ष नयाँ नोटको सट्टा सुकिला नोट सटही गरिएकोमा यस वर्ष भने नयाँ नोट नै सटही गरिने राष्ट्र बैंकले जनाएको छ।