जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार ०७:३९

बाढीपहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कहाँको अवस्था कस्तो छ?


काठमाडौं, असोज १५ । बाढीपहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ।

रसुवाका मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। प्रहरीले अर्को सूचना नभएसम्मका लागि ती सडक बन्द रहने जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ।

गण्डकी प्रदेशतर्फ बेँसीसहर हुँदै खाङसार जाने मनाङ सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा छ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। बेनी–दरबाङ सडकको बेनी नगरपालिका–४ घुमाउनेभीरमा पनि पहिरोका कारण सडक बन्द छ।

मुस्ताङको जोमसोम–कोरला सडकखण्डअन्तर्गत थासाङ गाउँपालिका–४ काब्रेभीर र लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ मा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ सेल्फीडाँडा/घुमाउरीघाटमा सडक एकतर्फी सञ्चालनमा छ। बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पनि कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मुसेडी र सर्केगार्ड गाउँपालिका–६ स्यालतडीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध छ।

त्यस्तै, सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ।