काठमाडौं, असोज १५ । भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् आपूर्ति कटौती हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज १५ देखि २६ गतेसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालनलगायत प्राविधिक काम गरिनेछ।
सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ। मौसम प्रतिकूल भए निर्धारित समयमा विद्युत् कटौती नगरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी र १८ गते गुर्जुधारा क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यस्तै, असोज २० गते मुलपानी, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरि आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिनेछ।
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ।
यसअन्तर्गत पहिलो चरणमा काठमाडौंका रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली निर्माण सुरु गरिएको थियो। दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुर तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा यस्तो प्रणाली निर्माण गर्ने कार्यक्रम छ।
कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइने प्राधिकरणले जनाएको छ।
भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ। साथै, सहरी क्षेत्रमा विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका तारलाई व्यवस्थित गर्न र काठमाडौं उपत्यकाको सहरी सौन्दर्य कायम गर्नसमेत सहयोग पुग्ने जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्