जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार ०७:४५

घनेन्द्र बस्नेतको योगदान नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्ण : केपी ओली


काठमाडौं, असोज १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतको निधनको दुःखद खबरले आफू स्तब्ध भएको बताउनुभएको हो।

उहाँले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्‍याउनुभएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै बस्नेतलगायतका योद्धाहरूले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि संघर्ष गर्नुभएको स्मरण गर्दै अध्यक्ष ओलीले ती कष्टपूर्ण दिनहरू आफूले सम्झिरहेको बताउनुभएको छ। ‘कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनुभएको दुःखद खबर सुनेँ। नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविस्मरणीय छ,’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ।

अध्यक्ष ओलीले बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

उहाँले बस्नेतको संघर्ष र योगदान नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने उल्लेख गर्नुभएको छ।