काठमाडौं,१५ असोज । भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले हालकै मूल्यलाई यथावत् राखेको छ। मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँभन्दा बढी घाटा हुने जनाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा बढेर आएको निगमले जनाएको छ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको भए पनि हाललाई मूल्य नबढाउने निर्णय गरिएको छ। भोटेकोशीमा आएको असाधारण बाढीपहिरोबाट सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललगायतका क्षेत्र छन्।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ तथा काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर कायम गरिएको छ।
एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत् राखिएको निगमले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्