काठमाडौं, असोज १५ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ३४ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमलप्रसाद गौतम, अछामका गणेशबहादुर बुढा र रामेछापका बद्रिकुमार तामाङ छन्।
प्रहरीका अनुसार वीरेन्द्रले बेलायत पठाइदिने भन्दै ९ लाख रुपैयाँ, कमलप्रसादले रोमानिया पठाइदिने भन्दै १ लाख रुपैयाँ, गणेशबहादुरले अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै ३ लाख रुपैयाँ तथा बद्रिकुमारले पोल्याण्ड पठाइदिने भन्दै २१ लाख ८९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्