जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार ०७:५९

गगन थापा पक्षले महाधिवेशन प्रतिनिधि छानिसक्दा देउवा पक्षको आजदेखि वडा अधिवेशन


काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको संस्थापन पक्षले वडा तथा पालिका अधिवेशन सम्पन्न गर्दै अधिकांश जिल्लाबाट महाधिवेशन प्रतिनिधिसमेत चयन गरिसकेको अवस्थामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले आजदेखि छुट्टै वडा अधिवेशन सुरु गर्ने भएको छ।

कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला देउवा पक्षले समानान्तर रूपमा आफ्नो महाधिवेशन प्रक्रिया सुरु गर्न लागेको हो। संस्थापन पक्षतर्फ सभापतिका आकांक्षी गगन थापा पक्षले विभिन्न वडा तथा पालिकाको अधिवेशन सम्पन्न गरिसकेको छ भने कतिपय जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको मतगणनासमेत जारी रहेको जनाइएको छ। कतिपय जिल्लाकाे परिणाम पनि आइसकेकाे छ । 

यता, देउवा पक्षले भने आज ७७ वटै जिल्लामा वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। उक्त समूहले १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ। सोहीअनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरी निर्वाचन आयोगलाई जानकारी गराइसकेको  छ । 

देउवा पक्षले आफ्नो महाधिवेशन प्रक्रियाका लागि ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइसकेको जनाएको छ। त्यस्तै, आजदेखि सुरु हुने वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको जनाइएको छ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल महाधिवेशन गर्न नहुने पक्षमा देउवा समूह रहँदै आएको थियो। तर, संस्थापन पक्षले असोज ३ गतेदेखि नै महाधिवेशनको प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि समानान्तर रूपमा आफ्नो महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको हो।

देउवा पक्षीय समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै कांग्रेसको आधिकारिक कार्यसमिति भएको दाबी गर्दै आएको छ। यही कारण संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा उक्त समूह सहभागी भएको छैन।

देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले भने वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउनुभएको छ। उहाँले कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उच्च मनोबल, उत्साह र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ।