जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार ०८:०२

बाढीपीडितको बिलौना : दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन


म्याग्दी, असोज १५ । बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापाको पछिल्लो चार दिनयताको दैनिकी घरभित्र पसेको बाढीको हिलो पन्छाउने र बचेका सामान जोगाउनेमा बितिरहेको छ। घरमा बस्न सक्ने अवस्था नभएपछि उहाँ राति आफन्तको घरमा आश्रय लिन बाध्य हुनुहुन्छ।

असोज ११ गते कालीगण्डकीमा आएको बाढी आनन्दबगरका आठ घरभित्र पसेको थियो। बाढीले केही सामान बगाएको छ भने बाँकी सामान हिलाम्मे र भिजेका छन्। घरभित्र पसेको हिलो र सामान व्यवस्थापनको काम चार दिन बित्दा पनि पूरा हुन सकेको छैन।

‘तीन भाइका सँगै रहेका तीन घरको आधा तलासम्म बाढी पसेको थियो,’ रुद्रबहादुरले भन्नुभयो, ‘केही सामान बगायो। बचेका सामान खोजेर सरसफाइ र संरक्षण गर्ने काम चार दिनसम्म पनि सकिएको छैन। अब कहाँ बस्ने भन्ने टुङ्गो छैन।’

व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका रुद्रबहादुरको समय अहिले खेतमा भन्दा बाढीले क्षति पुर्‍याएको घर र सामान व्यवस्थापनमै बितिरहेको छ। कालीगण्डकीमा फेरि बाढी आउने त्रासका कारण उहाँ साँझ आफन्तको घरमा गएर सुत्ने र बिहान आनन्दबगर फर्किएर घरभित्रको हिलो पन्छाउने गर्नुहुन्छ।

रुद्रबहादुरको जस्तै पीडा भोजबहादुर जिसी, पम्मी जिसी, सविना जिसी र मानबहादुर खत्रीलगायत आनन्दबगरवासीको पनि छ। नदी किनारदेखि करिब २० मिटर दूरीमा रहेको बस्तीमा यसअघि यसरी बाढी पसेको आफूलाई थाहा नभएको ६० वर्षीया कमला जिसीले बताउनुभयो।

‘कालीगण्डकीमा मैले थाहा पाएदेखिकै ठूलो बाढी आयो,’ उहाँले भन्नुभयो, ‘सामान त धोइपखाली गरौँला तर बस्ती नै छोडेर जानुपर्ने अवस्था आउला भन्ने चिन्ताले सताएको छ।’

जीवनभरको मेहनत खर्चिएर बनाएको घर बाढीले पुरिएर बस्नै नमिल्ने अवस्थामा पुगेपछि कमलाको परिवारलाई बाससँगै गासको समेत चिन्ता थपिएको छ। घरमा भएको खाद्यान्नसमेत बाढीले बगाएको उहाँले बताउनुभयो।

राति घरमा सुत्न सक्ने अवस्था छैन

आनन्दबगरका ८० वर्षीय कालुमान थापाका लागि यसपटकको बाढी जीवनभरको सम्झनामा रहेको ठूला बाढीमध्ये एक बनेको छ। कालीगण्डकीको बाढी तटबन्ध र सडक नाघेर घरभित्र पसेपछि उहाँ भागेर ज्यान जोगाउन सफल हुनुभएको थियो।

‘बेनीमा रहेका आफन्तले फोन गरेर बाढी आएको जानकारी गराए,’ उहाँले भन्नुभयो, ‘राति करिब १२ बजे भागेर ज्यान बचाउन सफल भयौँ।’

अहिले पनि कालीगण्डकीको बहाव बढेको देख्दा स्थानीयवासी त्रसित हुने गरेका छन्। दिनभर घर सफा र सामान व्यवस्थापन गरे पनि राति आफ्नै घरमा सुरक्षित भएर सुत्न सकिने अवस्था नरहेको उहाँहरूको गुनासो छ।

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै आएको बस्ती

मालढुङ्गा–बेनी सडक निर्माण हुनुअघि बागलुङ र पर्वततर्फबाट म्याग्दी आवतजावत गर्ने मानिसले आनन्दबगरको पदमार्ग प्रयोग गर्थे। सडक विस्तारपछि यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेतीलाई आम्दानीको मुख्य माध्यम बनाउँदै आएका थिए।

सानो क्षेत्रफलमा तरकारी खेती गरेर स्थानीय बजारमा बिक्री गर्दै आएका किसान अहिले बाढीबाट घरसँगै करेसाबारीमा लगाएको तरकारी बालीमा समेत क्षति पुगेपछि समस्यामा परेका छन्।

बाढीले आनन्दबगरको खेलमैदान पुरेको छ भने बेनीबाट आनन्दबगर जोड्ने सडक पहिरोका कारण क्षतिग्रस्त बनेको छ। खानेपानीको संरचनामा समेत क्षति पुगेपछि स्थानीयलाई थप समस्या भएको छ।

आनन्दबगरको माथिल्लो बस्ती भने दुई वर्षअघि कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खालका कारण बाढी र कटानबाट जोगिएको स्थानीय लालबहादुर थापाले बताउनुभयो।

‘आनन्दबगरलाई तटबन्ध गरेर सुरक्षित र बस्नयोग्य बस्ती बनाउनुपर्छ,’ स्थानीय सविना जिसीले भन्नुभयो, ‘अहिले घरमा बस्न सकिने अवस्था छैन, बाढीको त्रास पनि उस्तै छ।’

राहतसँगै दीर्घकालीन संरक्षणको माग

बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले पछिल्लो वर्षापछि आएको बाढीले वडाभित्र सबैभन्दा ठूलो क्षति आनन्दबगरमा भएको बताउनुभयो। उहाँका अनुसार सिममा एउटा र अर्जममा दुईवटा घरमा क्षति पुगेको छ।

बाढीपहिरो प्रभावित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराइएको र खानेपानी आपूर्ति सहज बनाउन नगरपालिकामा पहल भइरहेको उहाँले बताउनुभयो।

‘आनन्दबगरमा अल्पकालीन राहतको व्यवस्था मिलाएका छौँ,’ उहाँले भन्नुभयो, ‘दीर्घकालीन रूपमा बस्तीलाई सुरक्षित बनाउन तटबन्धलगायत संरचना निर्माणका लागि सङ्घीय सरकारको सहयोग आवश्यक छ।’

बाढीपछि घरको आँगनमा थुप्रिएको हिलो, खेतमा पुरिएको तरकारी र घरायसी सामानले आनन्दबगरवासीको बदलिएको दैनिकी देखाउँछन्। अहिले उहाँहरूको प्राथमिकता बाढीले बगाउन बाँकी रहेका सामान जोगाउनु र सुरक्षित बासको खोजी गर्नु बनेको छ।

दीर्घकालीन रूपमा बस्ती संरक्षण नभए कालीगण्डकीको किनारमा पुस्तौँदेखि बस्दै आएका परिवारलाई थातथलो छाड्नुपर्ने अवस्था आउन सक्ने स्थानीयवासीको चिन्ता छ।