काठमाडौं, असोज १५ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन सुरु हुने भन्दै नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिताका लागि अपिल गर्नुभएको छ।
देउवाले बिहीबार अपिल जारी गर्दै देशभरका ६ हजार ७४३ वडामा विधि र प्रक्रिया पूरा गरेर वडा अधिवेशन सुरु हुन लागेको उल्लेख गर्नुभएको हो। उहाँले झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसका लागि १५औँ महाधिवेशन महत्वपूर्ण रहेको बताउँदै अधिवेशनलाई हर्षोल्लासका साथ सम्पन्न गर्न आह्वान गर्नुभएको छ।
उहाँले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता तथा विधिको शासन स्थापनाका लागि कांग्रेसले गरेका त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन पनि १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। देउवाले पार्टीभित्र देखिएको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरी कांग्रेसलाई थप मजबुत बनाउने प्रणसमेत गर्नुभएको छ।
तर, देउवाले अपिल जारी गर्नुभएको समयमा कांग्रेसभित्र महाधिवेशनको विषयमा दुईवटा छुट्टाछुट्टै प्रक्रिया अघि बढिरहेका छन्। संस्थापन पक्षले आयोजना गरेको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भइसक्नुभएको भए पनि देउवा पक्षले उक्त विशेष महाधिवेशनलाई मान्यता दिएको छैन। कांग्रेसकाे थापा पक्षले असाेज १८ गतेबाट महाधिवेशन गर्दै छ । त्यसकाे लागि महाधिवेशन प्रतिनिधि चयनकाे काम समेत भइसकेकाे छ ।
देउवा पक्षले आफूहरू नै १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको आधिकारिक नेतृत्व भएको दाबी गर्दै विशेष महाधिवेशनको प्रक्रियालाई अस्वीकार गर्दै आएको छ। सोही आधारमा देउवा पक्षले छुट्टै रूपमा १५औँ महाधिवेशनको कार्यतालिका बनाएर आजदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो।
आफ्नो अपिलमा देउवाले पार्टीभित्रको मतभेद समाधान गर्ने विषयलाई प्राथमिकतामा राख्दै १५औँ महाधिवेशन सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ। ‘पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण गर्दछु,’ देउवाले अपिलमा उल्लेख गर्नुभएको छ।
देउवाले देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई आजदेखि सुरु हुने आफ्नो पक्षकाे वडा अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर अधिवेशन सम्पन्न गर्नसमेत आग्रह गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्